युक्रेन र रुसबिचको द्वन्द्व चल्दै छ र रुसले हालै युक्रेनविरुद्ध आक्रमण गरेको छ । युक्रेनमा गोलाबारुदको ठूलो अभाव छ । यस्तो सङ्कटको समयमा अमेरिका फेरि युक्रेनलाई सहयोग गर्न अगाडि आएको छ ।
अधिकारीहरूका अनुसार अमेरिकाले यो युद्धमा युक्रेनलाई समर्थन गर्ने तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनलाई २७ करोड ५० लाख डलरको सैन्य सहायता दिने घोषणा गरेको छ ।
यसैबीच, उत्तरपूर्वी युक्रेनमा रुसले स्थल आक्रमण गरेपछि हजारौँ नागरिकहरू उक्त क्षेत्रबाट भागेका छन् । रुसले तोपखाना र मोर्टारले सहर र गाउँहरूलाई लक्षित गरेको छ । लडाइँ बढ्दै जाँदा एउटा युक्रेनी एकाइ खार्किव क्षेत्रमा पछि हट्न बाध्य भएको छ । यससँगै रुसी सेनाले सिमानाको ठुलो भागमा नियन्त्रण प्राप्त गरेको छ ।
संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि २७ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेज तयार गरिरहेको छ, जसमा १५५ एमएम आर्टिलरी शेल, सटीक एयर वारफेयर सामग्री र ग्राउन्ड भेहिकलहरू समावेश छन् ।
नेटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने बताएका केही दिनपछि रुसको यो अभ्यास आएको हो । गत महिना फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनले सहयोग मागेमा सेना पठाउने बताएका थिए । बेलायतका विदेशमन्त्री डेभिड क्यामरनले युक्रेनले चाहेको खण्डमा रुसमाथि आक्रमण गर्न ब्रिटिस हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।