खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उक्त घटनामा संलग्न रहेका तिन जनालाई जिल्ला प्रहरी कार्यालय, खोटाङले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर ११ को २२ वर्षीय बिकास राई, सोहि ठाउँको २० वर्षीय आसन राई र सोहि ठाउँको २८ वर्षीय गणेश राई रहेका छन ।
बैशाख १ गते राती वादविवादको क्रममा धनजित राईलाई निजहरुले शरिरको विभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको कुरा प्रहरीले जनाएको छ ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय, खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका निजहरुलाई बैशाख ३ गते दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर १० स्थितमा लुकी छिपी बसेको अवस्थमा नियन्त्रणमा लिएको हो ।
हत्याको आरोपमा पक्राउ परेका निजहरुको जिल्ला प्रहरी कार्यालय, खोटाङबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।