घटनाको सत्यतथ्य छानबिन र दोषी उपर कारवाहीको माग राखी साल २०८० को असार १ गतेदेखि आन्दोलनमा रहेको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ को थापाचोक बस्ने २२ वर्षीय र स्वर्गीय आरती साहका परिवार र नेपाल सरकार गृह मन्त्रालयबीच सहमती भएको छ ।
आरती साहको कर्तव्य ज्यान सम्बन्धी हाल अदालतमा बिचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाइने छ ।
उक्त टोलीले मृतक साहको परिवारसंगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरको पैतालिस दिन भित्र प्रतिवेदन पेश गर्ने गरी निम्न विपयहरु अध्ययन गर्ने छ ।
आरती साहको सम्बन्धी मुद्दाको अनुसन्धानमा भएको कमी कमजोरीहरुको सम्बन्धमा पनि अनुसन्धान गरिने छ । घटनाको अनुसन्धानको क्रममा आरतीको परिवार माथि प्रहरीबाट भएको कुटपिट अथवा दुव्र्यवहारको सम्बन्धमा अनुसन्धान गरिने छ । साथै घटनाको सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गरिने कुरा जनाइएको छ ।
माथि लेखिएको बमोजिम भएको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुन अभियोजन गरिने छ । स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने छ । आरतीको परिवारबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने छ ।
पत्र हस्ताक्षरमा नेपाल सरकार,गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काटमाडौं प्रसाशन जिल्ला अधीकारी जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीको थिए भने स्वर्गीय आरती साहको तर्फबाट आमा निर्मला देवी साह, दाजु प्रेम साह र मामा सन्तोष कुमार साह थिए ।