बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट बीरगंजतर्फ आउने बस चढी आईरहेको अवस्थामा अपरिचीत पुरुष व्यक्तीले पैसा चोरी गरी फरार भएको थियो ।
निज पीडितलाई मिठाई र बिस्कुट खुवाई बेहोस पारी निज मुखियासंग रहेको नगद रु. ४१ हजार ५ सय र १ थान मोबाईल चोरी गरी बीरगंज बसपार्कबाट फरार भएको भनी सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएको थियो ।
उक्त सूचना प्राप्त हुनासाथ उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा चोरी गर्ने व्यक्तिलाई पर्साको बीरगंज महानगरपालिका वडा नम्बर १६ भानुचोक स्थितबाट पक्राउ गरेको हो ।
चोरी गर्ने व्यक्ति भारतको बिहार पूर्वी चम्पारण जिल्ला, बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नम्बर २ बस्ने पर्मा साहको छोरा २७ वर्षको अखिलेश कुमार साह हुन् ।
निजलाई नियन्त्रणमा लिई कानूनी रीतपुर्याई खानतलासी गर्दा चोरी भएको मध्ये नगद रु. ३७ हजार ४ सय १० रुपैया र चोरी भएको मोबाईल १ थान फेला परेको छ ।
निजलिई उक्त कार्यालयमा ल्याइ फागुन २३ गते पर्सा जिल्ला, अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ७ म्याद लिई अनुसन्धान भइरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।