प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने कपि एण्ड पेस्ट गर्ने अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको छ ।
कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको र एघार वटालाई सचेत गराइएको कुरा प्रेस काउन्सिलको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फागुन १६ गते प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ । उक्त बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।
आउने दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न र नगराउन ध्यानाकर्षण गराउने र फेरी त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।
एकलाई भुलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएको प्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ । बैठकपछिको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपसमितिको बैठक काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको थियो । उक्त बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष, काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा नेपाल बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता थियो ।
अध्यक्ष बस्नेतले अनलाइनको सङ्ख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताउनुभयो । सञ्चार माध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । यसतर्फ गम्भीर भइ काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ, उहाँले भन्नुभयो ।
काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न / नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।