पोखरा महानगरपालिकाको विभिन्न स्थानहरुमा रहेको नेपाल टेलिकमको कपर केबुल तारहरु चोरी गर्ने तिनजना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु पोखरा महानगरपालीका वडा नम्बर २७ स्थितमा रहेको अन्नपुर्ण गाउँपालिका स्थायी घर भएको हाल पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ बस्ने २९ वर्षको रमेश सार्की, सोहि ठाउँको वडा नम्बर २९ पट्नेरी बस्ने २१ वर्षको बिजय नेपाली र भारतको मोतिहारी जिल्लाको हाल पोखरा महानगरपालिका वडा नम्बर २७ बस्ने ३३ वर्षको फिरोज आलम हुन् ।
उक्त व्यक्तिहरुको साथबाट रु. १६ हजार ३ सय ११ रुपैयाँ बराबरको ३५ मिटरको तार र १९ किलो ९५० ग्राम पगालेर राखेको तामाको तार बरामद भएको छ ।
तारहरु चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीको मातहत ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई प्रकाउ गरेको हो ।
निजहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।