शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला, प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखीएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा माङसेबुङ गाऊपालिका वडा नम्बर १ गजुरमुखी ईलामका ३८ बर्षीय प्रबिण मिश्र र याङवरक गाउँपालिका वडा नम्बर १ च्याङथापु पाँचथरका ३० बर्षीय बिपिन अधिकारी रहेका हुन् ।
पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेलि, आर्थिक सहयोग सम्बन्धी लेखीएको पत्र ५ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, मोवायल ३ थान र एनसेलका सिमहरु ५ थान तथा अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १/१ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, एसबिआई बैकको चेकबुक, मोवायल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ ।
पक्राउ परेको समुहले बिराटनगर वडा नम्बर ३ मा रहेको खालि चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त बस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको छ ।