ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले ईलाका प्रहरी कार्यालय केराबारी, मोरङसँगको समन्वय तथा सहयोगमा माघ १० गते जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नम्बर १० स्थितबाट २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई पक्राउ गरेको हो ।
जिल्ला, संखुवासभा साविक सिद्धकाली गाउँ विकास समिति वडा नम्बर २ बस्ने कैली तामाङले २०६० साल फाल्गुन १० गते बेलुकाको समयममा हराएको पाईप लिन गएका सोही स्थानमा बस्ने स्थानीय मंगल लिम्बु र योगेन्द्र दाहाललाई लाठी-मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी मारी संखुवासभा जिल्लाको साविक सिद्दकाली गाउँ विकास समिति वडा नम्बर २ स्थित बतासे भिरबाट फ्याकी फरार भएकी थिइन् ।
उक्त फरार प्रतिवादी कैली तामाङलाई संखुवासभा जिल्ला, अदालतको २०६६ साल फाल्गुन १२ गतेको फैसला आदेशानुसार २० वर्ष कैद हुने सजाय तोकिएकोमा निज फरार भएको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
विभिन्न समयमा विभिन्न स्थानमा लुकिछिपि बसिरहेको र पछिल्लो समयमा निज जिल्ला, मोरङ केरावारी गाँउपालिकास्थित लुकिछिपि बसिरहेको गोप्य सूचना प्राप्त हुँदासाथ इलाका प्रहरी कार्यालय, चैनपुर संखुवासभाले इलाका प्रहरी कार्यालय, केरावारी मोरङको सहयोगमा निजलाई पक्राउ गरेको हो ।
निजलाई आज संखुवासभा जिल्ला, अदालत चैनपुर उपस्थित गराईएकोमा अदालतको पत्रबाट कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय, संखुवासभा पठाईएको छ ।