भारत तथा नेपालबाट अबैध कुखुरा पशुपंक्षीजन्य चिजबस्तु ओसार पसारमा रोक लगाएको अवस्थामा भारतबाट अबैध रुपमा भारतिय बोईलर कुखुराको चल्ला पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी पर्सा कार्यालयबाट थालनी गरिएको बिशेष अभियान संचालन गरिएको छ ।
संचालन गरिएको उक्त अभियान अन्तर्गत अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको भन्ने प्राप्त सुचना अनुसार खोजतलास तथा पक्राउको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पुष २४ गते जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर २१ डकैलाबहुअरी स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको थियो ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा BR05D 9725 र BR05Q 3265 नम्बरको मोटरसाइकलहरुमा भारतीय कुखुराको चल्ला ३८०० गोटा ल्याउदै गरेको अवस्थामा खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको थियो ।
बारामद भएको कुखुराको चल्लाहरुलाई आज पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत बीरगञ्ज महानगरपालिका वडा नम्बर १९ तिलावे खोलाको बगरमा लगी सो चल्लाहरू नष्ट गरिएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् र
साथै BR05D 9725 र BR05Q 3265 नम्बरको मोटरसाइकलहरुलाई उक्त कार्यालयबाटै आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।