चीनको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । यसबाहेक अर्को घटनामा कारखानामा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । यसरी केही घण्टामै आगलागीका घटनामा देशमा ३२ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङको फेंगताई जिल्लामा रहेको अस्पतालको भर्ना भवनमा मंगलबार दिउँसो आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
दिउँसो आगो नियन्त्रणमा आएको र उद्धार कार्य सकिएको समाचारमा जनाइएको छ । कुल ७१ जना बिरामीलाई अस्पतालबाट निकालेर अन्यत्र सारिएको छ । आगलागीको कारणबारे अहिले अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त जानकारी अनुसार काठको ढोका बनाउने कारखानामा पनि आगलागी भएको हो । काठको ढोका, रंग र प्याकेट जस्ता ज्वलनशील पदार्थका कारण आगलागी भएको अनुमान गरिएको छ । मंगलबार बिहान ४ बजे आगो नियन्त्रणमा आएपछि दुई राउण्ड खोजी तथा उद्धार कार्य गरी ११ जनाको शव फेला परेको समाचारमा जनाइएको छ ।