तालिबानले अफगानिस्तानमा आफ्नो क्रूरता देखाउन थालेको छ । यहाँ सानादेखि ठूला अपराधका लागि एकभन्दा बढी कडा सजाय दिइँदै आएको छ । जुन अपराध अधिकांश देशमा माफी हुन्छ वा जेलबाट तुरुन्त जमानत हुन्छ, त्यही अपराधले गर्दा अफगानिस्तानमा जीवन बर्बाद भइरहेको छ । उत्तरपूर्वी अफगानिस्तानमा १९ जनालाई व्यभिचार, चोरी र घरबाट भागेको अभियोगमा कोर्रा लगाउने सजाय सुनाइएको छ ।
सर्वोच्च अदालतका एक अधिकारीले आइतबार सो जानकारी दिएका हुन् । यो जानकारी सार्वजनिक भएपछि तालिबानले शरिया कानूनको कार्यान्वयनमा अडिग रहेको अडानलाई पुष्टि गरेको छ ।
अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा कोर्रा लगाउने यो पहिलो आधिकारिक पुष्टि हो जस्तो देखिन्छ । नोभेम्बर ११ मा, उत्तरपूर्वी तखार प्रान्तको तालोकान सहरमा १० पुरुष र नौ महिलालाई ३९-३९ कोर्राको सजाय सुनाइएको थियो, अदालतका अधिकारी अब्दुल रहिम रशिदले भने ।
उनले सहरको मुख्य मस्जिदमा शुक्रबारको नमाजपछि बृद्धबृद्धा, विद्वान र स्थानीय बासिन्दाको उपस्थितिमा दण्डित गरिएको बताए । दोषी ठहर हुनुअघि यी १९ जनाको मुद्दा दुई अदालतमा सुनुवाइ भएको अधिकारीले बताए ।