कार्तिक १५ गते सोमवारका दिन मुर्लि बगैंचा, बीरगंज स्थित ममता विद्या मन्दिर इङ्गलिश बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम जम्मा गरेर बीरगंजको रानीघाट स्थित मानव सेवा आश्रम अवलोकन गर्नुका साथै त्यहाँका वृद्ध, असहाय तथा बालबालिकाहरुलाई खाजा वितरण गरेका छन् ।
कक्षा ८, ९ तथा १० मा अध्ययनरत विद्यार्थीहरुले ‘सेवा नै मूल धर्म हो ।’ भन्ने भावबाट प्रेरित भई उक्त अवलोकन गरिएको कुरा स्कूलका अध्यक्ष शम्भु गुप्ताले बताएका छन् ।
मानव सेवा आश्रममा आश्रय लिइरहेका विभिन्न उमेरका मानिसहरुस“ग स्कूले विद्यार्थीहरुले देखाएका मानविय व्यवहारले आफूलाई ठूलो आत्मसंतुष्टी पाएको कुरा स्कूलका प्रिन्सिपल प्रकाश यादवले बताए ।
ससाना बालबालिकाले आफ्नो खाजा खर्चबाट जम्मा गरी आश्रमका बालबालिकास“ग खाजा खाने कार्यले समाजमा मानवता अझै जीवित रहेको तथा भोलिको दिनमा अरुले पनि प्रेरणा पाउने कुरा स्कूलका एकेडेमिक डायरेक्टर रुदर ठाकुरले जोड दिएका छन् ।
सो अवसरमा स्कूलका विद्यार्थीहरुका साथै शिक्षक हरिशंकर गुप्ता, शशिभुषण साह, शिक्षिका उषा राउत र रेश्मी श्रेष्ठको पनि उपस्थिति रहेको तथा आश्रमको तर्फबाट मुना लिम्बूले सहजीकरण गरेकी कुरा प्रिन्सिपल यादवले जानकारि दिएका छन् ।