वीरगञ्ज, कार्तिक १६,
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पर्साका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २, प्रदेशसभा क्षेत्र (क) र (ख), वीरगञ्ज महानगरपालिका तथा बहुदरमाई नगरपालिका कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। सोमबार, २०८३ कात्तिक १६ गते सम्पन्न अधिवेशनबाट विभिन्न तहका नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएका छन्।
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्य तथा सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो। नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, क्षेत्रीय तथा वडा प्रतिनिधि, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा वक्ताहरूले पार्टीभित्र संगठनात्मक एकता, आपसी सहकार्य र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको उद्घोषण नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिका संयोजक मनोज कुमार साहले गर्नुभएको थियो भने क्षेत्र नं. १ का संयोजक हरिन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
उद्घाटन सत्रपछि सुरु भएको बन्दसत्रबाट वीरगञ्ज महानगरपालिका नगर कार्यसमितिको सभापतिमा मनोज कुमार साह र सचिवमा आदित्य उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा हरिन्द्र प्रसाद यादव चयन हुनुभएको छ। सो क्षेत्रको प्रदेशसभा क्षेत्र (क) को सभापतिमा पुरुषोत्तम प्रसाद पटेल र (ख) को सभापतिमा दिपेन्द्र प्रसाद कानु निर्वाचित हुनुभएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा संजय कुमार चतुर्वेदी चयन हुनुभएको छ। उक्त क्षेत्रको प्रदेशसभा क्षेत्र (क) को सभापतिमा सन्दीप कुमार साह तेली र (ख) को सभापतिमा विकास उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ। बहुदरमाई नगरपालिका नगर कार्यसमितिको सभापतिमा प्रकाश रौनियार चयन हुनुभएको छ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री उमाकान्त चौधरी, बारा कांग्रेसका नवनिर्वाचित सभापति राजेश राय यादव, संविधानसभा सदस्य शम्भु हजरा, वरिष्ठ नेता शम्भु चौहान, डा. कृपासिन्धु चौधरी, उत्तमा प्याकुरेललगायत विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।
सर्वसम्मत नेतृत्व चयनले नेपाली कांग्रेस पर्साको संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीको संगठन विस्तार, जनताको सेवा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

