You are currently viewing वीरगञ्जका सबै विद्यालयमा शनिबार र आइतबार साप्ताहिक बिदा कायम गर्न महानगरको निर्देशन

वीरगञ्जका सबै विद्यालयमा शनिबार र आइतबार साप्ताहिक बिदा कायम गर्न महानगरको निर्देशन

असोज १५, वीरगञ्ज,

वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कायम गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाले जारी गरेको सूचनामा शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३/०२/१९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गरी विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न स्थानीय तहलाई अनुरोध गरिएको उल्लेख छ।

वीरगञ्ज महानगरपालिकाअन्तर्गतका केही संस्थागत विद्यालयले आइतबारसमेत विद्यालय सञ्चालन गरिरहेको गुनासो प्राप्त भएपछि महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले प्रत्येक शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कायम गर्नुपर्ने जनाएको हो।

महानगरपालिकाले साप्ताहिक बिदाका कारण पठनपाठन समय तथा कार्यघण्टामा कमी नहुने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदाको समायोजन गर्न निर्देशन दिएको छ। साथै, स्वीकृत पाठ्यक्रमअनुसार तोकिएको वार्षिक कार्यघण्टा अनिवार्य रूपमा पूरा हुने व्यवस्था मिलाउन विद्यालयहरूलाई भनिएको छ।

नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाले विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न उक्त निर्देशन जारी गरेको हो। सूचनाको बोधार्थ नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्याब्सन/एन प्याब्सन वीरगञ्ज र जिल्ला कार्यसमितिलाई समेत पठाइएको छ।

नेपाल सरकारको निर्णयलाई लत्याएर शिक्षकहरुको शोषण गर्ने काम बिपिसिले गरेको तथा डेसिमल, बीरगंज कलेज, ब्राइट कलेज लगायत अन्यले पनि त्यसैको सिको गरेर एक्स्ट्रा क्लासको नाममा आफ्नो स्कुल संचालन गरेको जनआरोप लागेको छ । स्कुल आफैले देश बिरोधि काम गर्छ भने त्यहाँ पढ्ने विद्यार्थीहरुले यस्तो कार्यबाट के सिक्छन ? 

Leave a Reply