You are currently viewing मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न वीरगञ्ज महानगरको योजना यस्तो

मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न वीरगञ्ज महानगरको योजना यस्तो

आश्विन १२, वीरगञ्ज,

वीरगञ्ज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट व्यवस्था गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत्का तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै सडक विस्तारकै क्रममा तार भूमिगत गर्न आग्रह गरेका हुन्।

महानगर प्रमुख सिंहले सडक विस्तारको सुरुवातदेखि नै विस्तारपछि बन्ने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत बनाउन माग गर्दै आएका थिए। तर डिभिजन सडक कार्यालय, हेटौँडाले सडकको नयाँ डिजाइनमा विद्युत्का तारलाई हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी गराएपछि महानगरले पुनः भूमिगत प्रणाली निर्माणका लागि पहल गरेको हो।

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अघि बढिरहेका बेला सडकसँगै विद्युत्का पोल तथा तारको व्यवस्थापन पनि दीर्घकालीन रूपमा गर्नुपर्ने महानगरको धारणा छ। महानगरले सडक विस्तारको कामसँगै विद्युत् प्रणाली भूमिगत गर्न सके भविष्यमा सडक खनेर पुनः विद्युत् संरचना व्यवस्थापन गर्नुपर्ने अवस्था अन्त्य हुने जनाएको छ।

महानगरका अनुसार वीरगञ्ज मुलुककै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक छ। यसबाट सडकमा रहेका विद्युत्का पोल तथा तार हट्नुका साथै सडकको सौन्दर्यीकरण, यातायात व्यवस्थापन र विद्युत् प्रणालीको सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ।

महानगर प्रमुख सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालय तथा निकायबीच समन्वय गरी आवश्यक निर्देशन दिन ऊर्जा मन्त्रालयसमक्ष आग्रह गरेका छन्। वीरगञ्ज महानगरपालिकाको आधिकारिक विवरणमा राजेशमान सिंह नगर प्रमुखका रूपमा उल्लेख छन्।

Leave a Reply