You are currently viewing ठाकुर राम बहुमुखी क्याम्पस स्ववियुद्वारा विपद् प्रभावितका लागि रु.१ लाख १ हजार सहयोग

ठाकुर राम बहुमुखी क्याम्पस स्ववियुद्वारा विपद् प्रभावितका लागि रु.१ लाख १ हजार सहयोग

भाद्र ३०, वीरगञ्ज,

ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१ लाख १ हजार सहयोग गरेको छ।

क्याम्पसस्थित स्ववियु कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच स्ववियु सभापति राजकुमार यादवको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले क्याम्पस प्रमुख डा. केशव कुमार यादव, सहायक क्याम्पस प्रमुखद्वय कुमार सच्चिदानन्द सिंह र पन्नालाल कुशवाहा तथा क्याम्पस प्रशासन प्रमुख उमेश साहमार्फत उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

कार्यक्रममा स्ववियु सभापति यादवले देश कठिन विपद्को अवस्थामा रहेका बेला विद्यार्थी वर्ग अध्ययनमा मात्र सीमित नरही सामाजिक दायित्वप्रति पनि उत्तिकै सजग रहेको बताउनुभयो। स्ववियुका तर्फबाट गरिएको सहयोगले विपद् प्रभावित नागरिकको पीडामा केही हदसम्म मलम लगाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

चेक ग्रहण गर्दै क्याम्पस प्रमुख डा. यादवले स्ववियुले गरेको मानवीय तथा सामाजिक कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। विद्यार्थी संघ–संगठनहरूले देखाएको सामाजिक उत्तरदायित्व र सहकार्यको भावना अनुकरणीय रहेको बताउँदै उहाँले उक्त रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चेक हस्तान्तरण कार्यक्रममा स्ववियुका पदाधिकारी तथा सदस्यहरू, क्याम्पस प्रशासनका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply