भाद्र १९, मलंगवा, सर्लाही — सर्लाही जिल्लामा लागुऔषध नियन्त्रण तथा दुर्व्यसनीहरूको पहिचान गर्न प्रहरीले आफ्नो अभियानलाई तीव्रता दिएको छ। समाजमा बढ्दै गएको लागुऔषधको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित विशेष अभियानअन्तर्गत सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एकैदिन १६ जना लागुऔषध दुर्व्यसनीहरूलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मलंगवा, सर्लाहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, भदौ १८ गते सञ्चालन गरिएको खोज तथा पहिचान अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले फरक–फरक स्थानबाट ती दुर्व्यसनीहरूलाई नियन्त्रणमा लिएको थियो। जसअन्तर्गत, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले ५ जना, प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले ६ जना र प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको टोलीले ५ जना गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) वेद प्रसाद गौतमका अनुसार, पहिचान तथा नियन्त्रणमा लिइएका सम्पूर्ण १६ जनामाथि हाल प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाइरहेको छ। साथै, प्रवक्ता गौतमले जिल्लालाई लागुऔषध मुक्त बनाउने लक्ष्यका साथ दुर्व्यसनीहरूको खोजी तथा पहिचान गर्ने यो अभियान आगामी दिनमा पनि निरन्तर चलिरहने जानकारी दिनुभएको छ।

