You are currently viewing चिनियाँ दूतावासद्वारा अनलाइन प्लेटफर्महरूमा उठेका आरोपहरूको खण्डन

चिनियाँ दूतावासद्वारा अनलाइन प्लेटफर्महरूमा उठेका आरोपहरूको खण्डन

काठमाडौं, भदौ १३,
चिनियाँ दूतावासले हालै नेपाली सञ्चारमाध्यम र अनलाइन प्लेटफर्महरूमा उठेका आरोपहरूको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ। चीनले नेपाललाई बाढी र पहिरोको पूर्वसूचना दिन नसकेको भन्ने आरोपको जवाफ दिँदै दूतावासले आफ्नो आधिकारिक फेसबुक खाता मार्फत हिमालय क्षेत्रको भौगोलिक जटिलता र दुई देशबीच भइरहेको निरन्तर सहकार्यबारे स्पष्ट पारेको छ।
विज्ञप्तिअनुसार, चिनियाँ र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको अनुसन्धानले हिमाली क्षेत्रमा जोखिमका बिन्दुहरू अत्यधिक छरिएर रहेको देखाएको छ। विशेषगरी ४,००० देखि ५,००० मिटर वा सोभन्दा माथिको उचाइमा रहेका हिमताल र हिउँ-चट्टानका क्षेत्रहरूमा तल्लो भेगमा जस्तो जनशक्ति खटाएर नियमित सर्भेक्षण गर्न सम्भव हुँदैन। यसका साथै, भिरालो जमिनमा तस्बिरहरूमा आउने त्रुटि र विशाल तथा जटिल भूगोलका कारण सटिक अनुगमन गर्नु अन्तर्राष्ट्रिय स्तरमै चुनौतीपूर्ण छ। सन् २०१५ को भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानहरूको संरचनालाई असर पुर्‍याएकोले यो जोखिम झनै बढेको दूतावासले जनाएको छ। यस्ता प्रविधिगत सीमितताका बाबजुद पनि चिनियाँ विशेषज्ञ टोलीले निरन्तर अनुगमन गरी नेपाललाई समयमै महत्त्वपूर्ण जानकारी दिने गरेको स्पष्ट पारेको छ।
प्रकोप व्यवस्थापनमा नेपाल र चीनबीच नजिकको सञ्चार कायम रहेको कुरालाई दूतावासले जोड दिएको छ। यसै वर्षको मे महिनामा चीनको जलस्रोत मन्त्रालयको टोलीले नेपाल भ्रमण गरी सीमापार प्रकोप सूचना-आदानप्रदान संयन्त्र स्थापना गर्न नेपालका सम्बन्धित निकायहरूसँग पहल गरेको थियो। त्यसैगरी, अगस्टमा चिनियाँ एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूको टोलीले नेपाल भ्रमण गरी हिमताल अनुगमनको व्यावहारिक अनुभव साझा गरेको थियो। यसै क्रममा, अगस्ट २६ का दिन चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरी प्रकोपको अवस्था मूल्याङ्कन र तत्काल डाटा साझा गरेको थियो।
हाल चीनले बाँधिएको ताल (barrier lake) को अनुगमन डाटा सहित जल-मौसम विज्ञान सम्बन्धी जानकारी नेपाललाई निरन्तर उपलब्ध गराइरहेको छ। प्रकोपको सामना गर्ने दुई देशको क्षमता बढाउन चीनले आफ्नो ‘MAZU’ (चिनियाँ बौद्धिक मौसम पूर्व चेतावनी समाधान) अन्तर्गत नेपाललाई प्रारम्भिक सेवाहरू प्रदान गरेको छ। यी कदमहरूले प्रकोप निवारणमा नेपालको आवश्यकताप्रति चीन इमानदार र गम्भीर रहेको देखाउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ गहिरो भई दुवै देशका जनताको सुरक्षा हुने विश्वास दूतावासले व्यक्त गरेको छ।

Leave a Reply