भाद्र १३, पर्सा,
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा रहेका पर्साका नागरिकहरू आफ्ना परिवार तथा आफन्तको सम्पर्कमा नआएको भए तत्काल जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामार्फत रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा पर्साबाट रसुवाको भोटेकोशी नदीमा बाढी आएको दिन रसुवा जिल्लाका विभिन्न स्थानमा गएका व्यक्तिहरू बाढीबाट प्रभावित भएको हुन सक्ने भन्दै उनीहरूको अवस्था बुझ्न परिवार तथा आफन्तलाई आग्रह गरेको हो।
प्रशासनका अनुसार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा रहेका कुनै व्यक्ति आफ्ना आफन्तको सम्पर्कमा आउन नसकेको अवस्था भए नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन अनुरोध गरिएको छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सहजता पुगोस् भन्ने उद्देश्यले प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तको अवस्थाबारे जानकारी नपाएका परिवारहरूले ढिलाइ नगरी सम्बन्धित निकायमा सूचना दिन प्रशासनले विशेष आग्रह गरेको छ।

