भाद्र १३, धादिङ,
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा २९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुबोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले उक्त सेफ तोडफोड गरी त्यसमा रहेको नगद पैसा चोरी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट कुल रु. ९२ लाख ६८ हजार ५०५ नगद बरामद गरेको जनाएको छ। बरामद रकमको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

