भदौ 12, काठमाडौं,
रसुवाको भोटेकोशी नदीमा फेरि पानीको बहाव बढ्न थालेपछि सम्भावित बाढीको जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि आज पुनः नदीमा पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। थप बाढी आउन सक्ने सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा जोखिम बढेको जनाइएको छ।
विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका र उद्धार तथा राहतमा तत्काल समेटिन नसकेका तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका नागरिकलाई थप सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। नदीको पानीको सतह र बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका व्यक्तिहरूले ढिलाइ नगरी सुरक्षित स्थानमा जानुपर्ने बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा २०८३ भदौ १२ गते शुक्रबार जारी गरिएको सूचनामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सबैमा विशेष अनुरोध गरिएको छ।
नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई प्रशासन तथा सुरक्षा निकायको सूचनालाई ध्यान दिन र अवस्था बिग्रनुअघि नै सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

