विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा हतियार सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु जिल्ला, पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर ५ को ४३ वर्षीय दिपेन्द्र गिरी र जिल्ला, पर्सा पोखरिया नगरपालिका वडा नम्बर ९ को ३७ वर्ष उमेर भएको शिवपुजन मुखिया हुन् । निजहरुबाट अवैध नलकटुवा पेस्तोल १ थान बरामद भएको छ ।
ना १२ प ४९७१ नम्बरको निज मोटरसाईकल चालकले लगाएको कालो रंङको ज्याकेटको वाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल १ फेला परेको थियो र उक्त मोटरसाइकल पछाडी सवार शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिइएको छ ।
हातहतियार सम्बन्धि कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको कुरा प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जनाएका छन् ।