You are currently viewing इक्वेडरमा ६.७ तीव्रताको भूकम्प मापन, १२ जनाको मृत्यु

इक्वेडरमा ६.७ तीव्रताको भूकम्प मापन, १२ जनाको मृत्यु

नेभा, ५ चैत्र,

दक्षिण अमेरिकी देश इक्वेडरमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । भूकम्पको शक्तिशाली धक्काले धेरै भवनमा क्षति पुगेको छ र मानिसहरु सडकमा दौडेका छन् । ‘युएस जियोलोजिकल सर्भे’ ले देशको तटीय गुयास क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल (८० किलोमिटर) दक्षिणमा केन्द्रित थियो । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा ग्वायाकिलको सडकमा मानिसहरू भेला भएको देख्न सकिन्छ । उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस भूकम्पपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले ट्वीट गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका छन् । भुकम्पको धक्का महसुस हुनासाथ मानिसहरु घर बाहिर निस्केर सडकमा आएका थिए । इक्वेडोरको जोखिम व्यवस्थापन सचिवालयले कुएन्कामा कारभित्र बसेका एक व्यक्तिको भूकम्पका कारण मृत्यु भएको जानकारी दिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।

इक्वेडरअघि टर्कीमा गएको भयानक भूकम्पको दृश्य विश्वले देखेको थियो । यस भूकम्पमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो । गत फेब्रुअरी ६ मा आएको भूकम्पको धक्काले विश्वलाई नै हल्लायो । त्यसबेलादेखि, विश्वभरका देशहरूले टर्कीलाई सहायता पठाएका थिए । टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्र दक्षिणी टर्कीमा थियो ।

Leave a Reply