रुसले आइतबार युक्रेनमा फेरि मिसाइल हमला गरेको छ जसका कारण २०२३ को पहिलो दिनको उत्सव पनि फिक्का भएको छ । रुसमा नयाँ वर्षको अवसरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या पनि कम्तीमा तीन पुगेको छ । उपराष्ट्रपतिका प्रमुख कर्मचारी किरिलो टिमोसेन्कोले दक्षिणी सहर खेरसनमा रातभर भएको गोलाबारीमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको र अर्का एकजना घाइते भएको बताए ।
विस्फोटबाट बाल अस्पतालका सयौं झ्यालका सिसा फुटेको उनले बताए । खमेलनित्स्कीका मेयर ओलेक्सान्डर सिम्चिसिनले शहरमा रकेट आक्रमणमा परी २२ वर्षीया महिला घाइते भएकी थिइन्, जसको पछि उपचारको क्रममा मृत्यु भएको थियो ।
राजधानी कीभ लगायत युक्रेनको विभिन्न क्षेत्रमा शनिबार र रातभर विष्फोटको आवाज सुनिएको थियो र दर्जनौं घाइते भएका थिए । रुसले आक्रमणलाई तीब्र बनाएको सङ्केत हो । युक्रेनी अधिकारीहरूले अब रुसीहरूले डरको वातावरण सिर्जना गर्न र मनोबल खस्काउन जानाजानी गैर-लडाकूहरूलाई निशाना बनाएको दाबी गरेका छन् ।