उत्तरी मेक्सिकोमा एउटा इन्धन ट्याङ्कर र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यो जानकारी दिएका छन् । टमौलिपास राज्यका अभियोजकहरूले दुबै सवारी साधन ठोक्किएर पूर्ण रूपमा जलेको बताएका छन् । प्रहरीले जारी गरेको तस्विरमा बस जलेर धातुको थुप्रोमा परिणत भएको देखिन्छ ।
तामौलिपास प्रदेश प्रहरीले प्रारम्भिक रूपमा नौ शवको अवशेष फेला पारेको बताएको थियो । उनले पछि थप नौवटा अवशेष फेला परेको र अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गरेको बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।
दुर्घटना मोन्टेरी सहर जाने राजमार्गमा बिहानै भएको थियो । इन्धन बोकेको ट्यांकरका चालक भने सकुशल रहेको र सोधपुछ भैरहेको बताइएको छ । बस हिडाल्गोबाट मोन्टेरी सहर जाँदै थियो ।