अमेरिकाको टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डमा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । सीएनएनका अनुसार स्कूलमा गोली चलाउने एक १८ वर्षीय युवकलाई प्रहरीले मारेको छ । गोली चलाउने व्यक्तिको नाम साल्भाडोर रामोस रहेको बताइएको छ ।
समाचार एजेन्सी एपीका अनुसार बन्दुकधारी ह्यान्डगन र राइफल लिएर रोब इलिमेन्टरी स्कुलमा प्रवेश गरे र बालबालिकामाथि गोली चलाउन थाले । गोलीबारीमा मारिएका बालबालिका ७ देखि १० वर्षका बीचको रहेको बताइएको छ । सबै दोस्रो, तेस्रो र चौथो कक्षाका विद्यार्थी थिए ।
टेक्सासका गभर्नर ग्रेड एबोटले गोलीबारी टेक्सासको उभाल्डे सहरमा भएको बताए । उनले रोब इलिमेन्टरी स्कुलका निर्दोष बालबालिकामाथि १८ वर्षीय युवकले गोली चलाएको बताए । यो घटना दिउँसो भएको हो । गोली चलेको खबर स्थानीय प्रशासनमा पुगेपछि तत्कालै टोली घटनास्थलमा पठाइएको थियो ।