You are currently viewing सबैभन्दा खराब आर्थिक संकटमा परेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए

सबैभन्दा खराब आर्थिक संकटमा परेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए

नेभा, २७ बैशाख,

श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको बीचमा देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । महिन्दाको राजिनामा देशको कमजोर अर्थतन्त्रलाई लिएर प्रधानमन्त्रीको राजिनामाको लागि व्यापक विरोध र सार्वजनिक मागको बीचमा आएको हो । प्रदर्शनकारीहरूले महिन्दाका भाइ गोटाबाया राजापाक्षेलाई श्रीलंकाको वर्तमान संकटलाई लिएर राष्ट्रपति पदबाट राजीनामा दिन पनि माग गरिरहेका छन् ।

यसअघिका समाचारमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको दाबी गरिएको थियो । प्रधानमन्त्री महिन्दाले यी रिपोर्टहरूको खण्डन गर्दै यस्तो कुनै अनुरोध नगरिएको र आफूले राजीनामा नदिने बताए । तर, सत्तारुढ श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपीपी) र यसका गठबन्धनबीच भएको धेरै बैठकपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

श्रीलंकाका अधिकारीहरूले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाएका छन् । यसैबीच, राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालयबाहिर सरकार समर्थक समूहले प्रदर्शनकारीमाथि आक्रमण गरेपछि राजधानी कोलम्बोमा सेना परिचालन गरिएको छ । यस आक्रमणमा कम्तीमा २३ जना घाइते भएका छन् । प्रहरी प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले भनेका छन् कि श्रीलंकामा अर्को सूचना नआएसम्म तत्काल प्रभावका साथ कर्फ्यू लगाइएको छ ।

शान्ति सुरक्षा कायम गर्न सेनाको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ । शुक्रबारको मन्त्रिपरिषद्को विशेष बैठकमा राष्ट्रपति राजापाक्षेले शुक्रबार मध्यरातबाट संकटकालको घोषणा गरेका हुन् ।

Leave a Reply