बीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको अगुवाइमा आज बुधबारको दिन बसेको शैक्षिक सरोकारवालाहरुको बैठकले महानगरपालिका भित्रका विद्यालयहरु साउनको ३१ गते आइतबारबाट सञ्चालन गर्नदिने निर्णय गरेको छ ।
हाल महानगरपालिका भित्र कोभिड–१९ को संक्रमण अत्यन्तै न्यून अवस्थामा रहेकोले पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ बमोजिम स्वास्थ्यको मापदण्डलाई पालन गराई सुरक्षित ढङ्गले अभिभावको स्विकृति लिएर विद्यालय सञ्चालन गर्ने गराउने निर्णय गरेको हो ।
एकातिर कोभिड–१९ को संक्रमणको तेस्रो लहर बढिरहेको बेला विद्यालय सञ्चालन गराउनु उपर्युक्त नहुने भनी सामाजिक सञ्जालमा आलोचना भइरहेको छ भने अर्कोतिर लामो समय सम्म विद्यालय बन्द भएकोले विद्यार्थीहरुलाई मार पर्नुका साथै मानसिक समस्याको शिकार भइरहेको तथा ठूला विद्यार्थीहरुले सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सक्ने भएकोले महानगरपालिको यस निर्णयको सर्वत्र स्वागत भइरहेको छ ।