You are currently viewing कुटपिटबाट शिक्षकको मृत्यु, आरोपमा ११ जना पक्राउ

कुटपिटबाट शिक्षकको मृत्यु, आरोपमा ११ जना पक्राउ

भोजपुर, भदौ १४,

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५, माबुस्थित भदौरे मेला घुम्न आएका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार २०८३ भदौ ११ गते राति करिब ११:४५ बजे खोटाङको केपिलासगढी गाउँपालिका–७ निवासी ३९ वर्षीय भानुभक्त राईमाथि पुरानो विवादका कारण कुटपिट भएको थियो। राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए। कुटपिटबाट उनको मृत्यु भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले खोजतलास गरी भदौ १२ गते ११ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका–७ का २९ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, २१ वर्षीय मोली भन्ने प्रतिक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया समिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।

पक्राउ परेका सबैलाई भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय, भोजपुर

Leave a Reply