You are currently viewing वीरगञ्ज महानगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि रु. १ करोड ११ लाख सहयोग गर्ने

वीरगञ्ज महानगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि रु. १ करोड ११ लाख सहयोग गर्ने

भाद्र १३, वीरगञ्ज,

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले रु. १ करोड ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाको २०८३ असार १३ गते बिहान ११:०० बजे बसेको बैठकले उक्त निर्णय गरेको हो। महानगरपालिकाले २०८३ असार १० गते बिहान रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा सुरक्षित उद्धारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

महानगरपालिकाका अनुसार उक्त रु. १ करोड ११ लाख सहयोग रकम विभिन्न स्रोतबाट जुटाइनेछ। त्यसमा वीरगञ्ज महानगरपालिकाका नगर सभा सदस्यहरूको एक महिनाको सेवा सुविधा, महानगरपालिकाका ३२ वटा वडाको वडा-स्तरीय बजेटबाट प्रतिवडा रु. १ लाख २५ हजार, महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट मुख्य सचिवस्तरीय निर्णयअनुसारको रकम, तथा प्रकोप व्यवस्थापन कोषबाट नपुग रकम समावेश हुनेछ।

महानगरपालिकाले विपद्को यस कठिन घडीमा रसुवाका बाढी प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ। साथै, महानगरपालिकाका कुनै नागरिक उक्त विपद्बाट प्रभावित क्षेत्रमा फसेको वा उद्धारको आवश्यकता रहेको जानकारी प्राप्त भएमा तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

Leave a Reply