भदौ १, काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित आफ्ना मागलाई लिएर सञ्चालन गर्दै आएको सबै दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघबीच २०८३ भदौ १ गते भएको छलफलपछि संघले आफ्ना मागका सम्बन्धमा भइरहेको कार्यक्रम आजैदेखि अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।
संघले यसअघि साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न १५ बुँदे माग राख्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, २०८३ भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने विषयसमेत उठाएको थियो।
छलफलमा संघका १५ बुँदे मागमध्ये अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र अघि बढाउन अधिकतम प्रयास गर्ने जनाएको छ।
मन्त्रालयका अनुसार व्यवसायीहरूले आफ्ना विषय तथा मागका सम्बन्धमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध गर्न सक्नेछन्। विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित व्यवस्थाअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि स्पष्ट गरिएको छ।
स्रोत: युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल सरकार

