सर्वसाधारण नागरिकले स–सानो बचत र आर्थिक कारोवार गर्ने सहकारी संस्थामा पछिल्लो समय आर्थिक अपराध बढ्दै गइरहेकोले वीरगंज महानगरपालिकाले सहकारीहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । साथै बेथितिको घटनाप्रति महानगर संवेदनशील छ भनिएको छ ।
सहकारी नियमन, निस्कृय सहकारीलाई कारवाहि तथा समस्याग्रस्त घोषण गर्ने काम पनि सँगसँगै वीरगंज माहानगरपालिका द्वारा बढाइएको छ ।
वीरगंज महानगरपालिकालाई सहकारी संस्थाहरुको दिगोपनाको योजना तयार पार्नु पर्ने भएकोले संचालक समितिको विवरण नागरिकता प्रतिलिपी समेत, ऋणी र बचत कर्ताको ऋण र बचत विवरण तथा सम्पर्क नम्बर, संस्था आफ्नै भवनमा भएकाको हकमा सम्पत्ति कर बुझाएको रसिदको प्रीतलिपी वा बहालमा भए बहाल सम्झौता पत्र र बहाल कर तिरेको रसिदको प्रतिलिपी, व्यवसाय दर्ता प्रमाण पत्र नविकरण सहितको प्रतिलिपी र आर्थिक साल २०७९/२०८० वर्षको साधारण सभा तथा वार्षिक लेखा परिक्षण प्रतिवेदनको प्रीतलीपीको माग गरेको छ ।
उक्त बमोजिमको कागजात सहित वीरगंज महानगरपालिकाको कार्यालय, सहकारी, रोजगार तथा उद्यम विकास प्रवर्द्धन शाखामा ७ दिन भित्र प्राप्त हुने गरी अनिवार्य रुपले पठाई दिनु हुन महानगरले अनुरोध गरेको छ ।
सात दिन भित्र उक्त कागजातहरु नपठाएमा वीरगंज महानगरपालिकाको सहकारी ऐन २०७४ तथा नियमावली २०७८ बमोजिम कारवाही हुने सबैमा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी गराएका छन् ।