सामाजिक संजाल फेसबुकबाट नाबालिकाको चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने २२ वर्षको सुमन खत्री हुन् ।
निजले नाबालिकाको फोटो फेसबुकबाट डाउनलोड गरी विभिन्न फेक आई डी खोली त्यसबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै पिडितको दिदी र साथीहरु लगायतलाई समेत अश्लिल तस्विर, भीडियो, म्यासेन्जरमा पठाई चरित्र हत्या गर्नुको साथै दुःख हैरानी दिई रहेका थिए । उक्त विषयमा आवश्यक कारवाही गरी दिनुहुने भनी नाबालिकाको काकाले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा निवेदन दिनु भएको थियो ।
उक्त सम्बन्धमा अनुसन्धान तथा प्रविधिक विश्लेषण गर्दै जाने क्रममा आफ्नो परिचय लुकाउनको लागी भि.पी.एन. को समेत प्रयोग गरीरहेको पाइएकोमा निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा उक्त कार्यालयबाट खटिई गएको टोलिले गोल्खुपाखाको ठमेलबाट फागुन १७ गते नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको लागि काठमाडौं जिल्ला, अदालतबाट दिन ५ म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जनाएका छन् ।