नेपाल भरि मानव बेचबिखन लगायत अनेकौ चेतनामुलक कार्यक्रमहरु नेपालका प्रहरीहरु द्वारा संपादन हुँदै आइरहेको छ र यसैबीच मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छिन् ।
सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित रहेको यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरिरहेको थिइन् ।
उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँकेको नेपालगंजबाट पक्राउ गरेको छ ।
मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने थिइन् तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीहरूलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी माथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको खबर नेपाल प्रहरीको फेसबुक पेजबाट प्रकाशित बिज्ञप्तिबाट जानकारी गराइएको छ ।