रुस र युक्रेनबीच पछिल्लो ५ महिनादेखि युद्ध चलिरहेको छ । दुवै पक्ष जित्ने प्रयासमा छन् । अमेरिकालगायत सबै पश्चिमी देशहरूले युक्रेनलाई समर्थन गरिरहेका छन् । जसमध्ये एउटा जर्मनी पनि हो । यहाँ दुई दिने G-7 शिखर सम्मेलन पनि हुँदैछ । यो शिखर सम्मेलनमा रुस–युक्रेन युद्धका सम्बन्धमा केही कदम चाल्न सकिने बताइएको छ । यसैबीच आइतवार २६ जुनमा रुसले युक्रेनको राजधानी कीभमा एकपछि अर्को गर्दै १४ वटा मिसाइल प्रहार गरेको थियो ।
कीभका मेयर क्लित्सकोले भने, ‘रुसले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् । सात वर्षीया बालिका र उनकी आमा सहित सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।’
युक्रेनी मिडियाका अनुसार रुसी आक्रमणका कारण कीभको शेभचेन्किभ्स्की जिल्लामा रहेको नौ तले भवनमा भीषण आगलागी भएको हो । भवनको सातौं, आठौं र नवौं तल्लामा ठूलो क्षति पुगेको छ । यी भुइँहरू आगोमा जलेर खरानी भएका छन् । सोही समयमा उक्त हमलाका कारण ३५ वर्षीया कटरिना र उनकी सात वर्षीया छोरी भवनको भग्नावशेषमुनि दबिएका थिए । कटेरिना रुसकी नागरिक हुन्, जो विगत केही वर्षदेखि युक्रेनमा काम गरिरहेकी छन् ।