पाकिस्तानमा दुई दिदीबहिनीमाथि बलात्कारको घटना बाहिर आएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा दुईजना हिन्दू बहिनीलाई दुई युवकले बलात्कार गरेका छन् ।
बिहीबार यसबारे जानकारी दिँदै प्रहरीले दुवै आरोपीको पहिचान अश्फाक र कासिफ अली भएको बताएको छ । दुई अभियुक्त मध्ये कासिफ अली प्रभावशाली परिवारका हुन् र त्यही कारण मुद्दा दर्तामा ढिलाइ भएको हो ।
फोर्ट अब्बासको बहावलनगरमा बस्दै आएका १६ र १७ वर्षीया दुई दिदीबहिनी बिहान घरबाट नजिकैको खेतमा शौच गर्न गएका प्रहरी अधिकृत इरशाद याकुबले बताए । त्यहाँ दुईजनाले बन्दुक देखाएर बन्धक बनाएर बलात्कार गरेको उनले बताए । प्रहरी अधिकारीका अनुसार अभियुक्तहरुको पहिचान उमर अश्फाक र कासिफ अलीको रुपमा गरिएको छ । स्वास्थ्य परीक्षणमा दुवै दिदीबहिनीमाथि बलात्कार भएको पुष्टि भएको उनले बताए ।