इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा आज शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का मलेसिया र सिंगापुरमा पनि महसुस गरिएको थियो । भूकम्पले भवनहरुमा क्षति पुर्याएको र धेरै मानिस घाइते भएको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको रेक्टर स्केलमा ६.२ रेक्टर स्केल रहेको छ ।
भूकम्पको केन्द्रविन्दु पश्चिम सुमात्रा प्रान्तको पहाडी सहर बुकिटिङ्गीबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको थियो ।
इन्डोनेसियाको मौसम विज्ञान तथा भूभौतिकीय निकायका प्रमुख द्विकोरिता कर्णावतीले भूकम्पका कारण सुनामीको खतरा नभएको तर थप परकम्प आउने चेतावनी दिएकी छिन ।
टेलिभिजन रिपोर्टहरूले पश्चिमी सुमात्रा प्रान्तको राजधानी पडाङमा मानिसहरू आतंकित भएर सडकमा दौडिरहेको देखाएको छ । पश्चिम पासमान जिल्लाको अस्पतालबाट पनि बिरामीहरूलाई बाहिर निकालिएको देखाइएको छ । छिमेकी मुलुक मलेसिया र सिंगापुरमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
पश्चिम पासमान जिल्ला प्रमुख हम्सुआर्डीले आजको भूकम्पले दर्जनौं घर र भवनमा क्षति पुर्याएको र धेरै मानिस घाइते भएको तर कुनै मानवीय क्षति नभएको बताए ।
जनवरी २०२१ मा, इन्डोनेसियाको वेस्ट सुलावेसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पले कम्तिमा १०५ जनाको ज्यान लियो र ६,५०० घाइते भएका थिए ।