नेपालमा छरिएर रहेका भोजपुरी भाषी, समाज, भोजपुरी भाषा, साहित्य तथा लोक परम्परालाई मजबुत तथा सम्बृद्ध गर्न पुर्याएको महत्वपूर्ण योगदानको लागि खेलेको सार्थक र सफल भूमिकाको कदर गर्दै भोजपुरी प्रतिष्ठान, बीरगंजले गहवा निवासी नागेन्द्रप्रसाद कानूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।
नगर प्रमुख तथा भोजपुरी प्रतिष्ठानका संरक्षक विजय कुमार सरावगीले कानूलाई कार्तिक १२ गते शुक्रबार प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीको सभापतित्वमा आयोजित भोजपुरी प्रतिष्ठानको प्रथम पूर्ण सभाको अवसरमा बीरगंज स्थित नगरसभा गृहमा सम्मान गरेको हो ।
विसं. २०२८ साल देखि नै भोजपुरी भाषा तथा साहित्यको विकासको लागि बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै धेरै साहित्यकारलाई नेपालभरि चिनाएका तथा नेपाल भोजपुरी साहित्य कला परिषद्को अध्यक्षको रुपमा लामो समय देखि संघर्ष तथा योगदान गर्दै आएका ७६ वर्षिय कानू असंतुष्ट देखिए पनि ढिलो भएपनि आफ्नो जीवनकालमै आफूले गरेको योगदानको कदर गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिएका छन् ।
सो कार्यक्रममा नाटककार रामचन्द्र चतुर्वेदी, निवन्धकार रामचन्द्र वर्णवाल, कवि तथा कथाकार माधवप्रसाद गौतम लगायतका व्यक्तित्वहरुलाई पनि सम्मानित गरिएको थियो ।
बीरगंज महानगरपालिकाकी उप–मेयर शान्ती कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, गोपाल ठाकुर, प्रतिष्ठानका सल्लाहकार गोपाल अस्क, दिनेश गुप्ता, पत्रकार चन्द्रकिशोर झा, भारतको रक्सौलका साहित्यकार हरेन्द्र हिमकर, आनन्द गुप्ता लगायतको सहभागिता रहेको थियो ।