बीरगञ्जका दुई पत्रकारमा पनि विश्वव्यापि रहेको कोरोना महामारीको संक्रमण पुष्टि भए पश्चात बीरगञ्जका पत्रकारहरुमा जुन तनावको अवस्था एकाएक सृजना भएको थियो त्यो राष्ट्रिय जनस्वास्थ प्रयोगशाला परीक्षण केन्द्र, काठमाडौंबाट जारी गरिएको परिणाममा सबै नेगेटिव आएसँगै उनीहरुले राहतको ठूलो सास फेर्न पाएका छन् ।
गत बैशाख ३१ गते नारायणी अस्पतालमा सय बढी पत्रकारहरुले आफ्नो स्वाब परीक्षण गराएर हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वयः एकान्तवासमा बसेका थिए । ३ दिन पछि अर्थात आज शनिवार बिहान अनलाइनमा जारी गरिएको रिपोर्ट नेगेटिव अर्थात कोरोनामुक्त रहेको जानकारी पाएपछि सामाजिक सञ्जालमा बधाइ दिने शुभचिन्तकहरुको ओइरो लागेको छ ।
केहि दिन अगाडि पत्रकारहितका लागि प्रहरी प्रशासन विरुद्ध नेपाल पत्रकार महासंघ, पर्सा शाखाबाट गरिएका आन्दोलनमा सम्मिलित पत्रकारहरु मध्ये २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि थुप्रै पत्रकारहरु संक्रमणको शिकार हुन सक्ने आशंका गरिएको हुनाले ठूलो त्रासपूर्ण अवस्थाको सृजना भएको थियो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का प्रादेशिक अध्यक्ष दिपेन्द्र चौहानले यो ९१ घण्टाले धेरैकुरा सिकाएको प्रतिकृया आफ्नो सामाजिक सञ्जालमा दिएका छन् भने अन्य धेरै पत्रकारहरुले देवीदेवता, परीवारजन तथा शुभचिन्तकहरुलाई धन्यवाद दिनुका साथै आफू ‘नेगेटिव’ रहेको कुरा सहर्ष जानकारि दिएका छन् ।
स्वास्थ्यस्थिति सामान्य रहेका दुई पत्रकारहरु पनि उच्च मनोवलका साथ आस्पतालमा कोरोना भाइरसमाथि विजय हासिल गर्न स्वास्थलाभ लिइरहेका छन् ।
कतिपय एफएमका पत्रकार कर्मचारिहरु एफएम भवनमै आफूलाई स्वय एकान्तवासमा राखी पिसिआर को रिपोर्ट कुर्दै आएका थिए ।
सामाजिक सञ्जालमा प्रतिकृया दिएका प्रायः सबै पत्रकारहरुको एउटा कुरामा समानता देखिएको छ कि परीक्षणका लागि स्वाब दिएको दिन देखि नै उनीहरुप्रति सामाजिक दृष्टिकोण नै एकाएक फरक भयो ।
सामाजिक घटना दुर्घटनाहरुको जानकारी गराउने पेशागत दायित्व तथा जनतालाई सत्यतथ्य सूचना दिई सुसूचित गर्नका लागि बाहिर निस्कनै पर्नेहुन्छ तर त्यसो गर्दा आफ्नै ज्यान जोखिममा राखेर लापरवाहि गर्न नहुने कुरा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का प्रादेशिक अध्यक्ष दिपेन्द्र चौहानले पपुलरसिसलाई भन्नुभयो । वहाँले थप्नुभयो, ‘आफ्नो ज्यान रहे मात्र पत्रकारीता गरिन्छ । त्यसैले अहिले उपलब्ध रहेको सञ्चारको सबै प्रविधिको उपयोग गरेर सामाजिक दुरी कायम गर्दै घरबाटै काम गर्न म सबैलाई सुझाव दिन्छु ।’
आफूबाट परिवार लगायत समाजका अन्य मानिसहरु यो ज्यानलेवा भाइरसको खतरामा नपरुन भनेर परीक्षणको लागि आफ्नो स्वाब दिएपछि आफूप्रति समाजको हेर्ने दृष्टिकोण नै नकरात्मकरुपले फरक पाएकोले आफ्नो पनि रिर्पोट नेटेटिव आएका चौहानले समाजलाई ‘मतलबी’ बताएका छन् ।
त्यस्तै अर्का पत्रकार ध्रुव साहले यो ९१ घण्टाको समय आफ्नो जीवनको ४९ वर्षको उमेरमा कहिल्यै नआएको र कसरी आफ्नो परिवारबाट अलग बसी रातरातभरी आफ्ना परिवारका सदस्यहरुको चिन्तामा जागेको कुरा पपुलरसिसलाई बताउनु भयो । अधुरो सपना र भविष्यको अन्धकार बादलले कसरी निन्द्रा उडाउथ्यो त्यो अवर्णननीय छ । कल्पना नै नगरेको दिन अचानक आफ्नो अगाडि आएको देखेर चिन्ता लाग्नु स्वभाविक नै हो । जसरी घरपरिवार र समाजले मानिसलाई घर निकाला गरेपछि एक्लो अनुभव हुन्छ त्यस्तो दिनरात एफएमको एउटा कोठामा बिताएको क्षण ज्यादै पिडादायी थियो । झन अस्पतालमा यो रोगसँग एक्लै लडिरहेका थुप्रै बिरामीहरुलाई कस्तो अनुभव हुँदोहोला, उनी चिन्ता गर्छन् ।
गाउँघरमा त्यस्ता मानिसहरु पनि छन् जो टिभी हेर्दैनन्, मोबाइल चलाउन जान्दैनन्, इन्टरनेटको पहुँच छैन, त्यस्ता एफएम माथि आश्रित मानिसहरुको लागि कुनै परिस्थितिमा आफू पत्रकारीताको धर्मलाई नछाड्ने कुरा पनि भन्छन् । सडकमा बहादुरी देखाउँदै पत्रकारीता गर्ने साथीहरुलाई आफू र परिवारको ज्यानलाई जोखिममा राखी त्यसो नगर्न सुझाव दिन्छन् । झन यो भन्दा ठूलो संकट आउन सक्ने सम्भावना रहेकोले आफू लगायत समाजलाई यो महामारीबाट सुरक्षित राख्न आफू पनि डव्लुएचओ ले बताएको सुझावको पूर्ण पालना गर्दै सकभर थोरैजनाको समूहमा, सामाजिक दुरीमा, पञ्जा, मास्क, रेनिटाइजरको प्रयोग गर्नुका साथै सरभर घरबाटै काम गर्ने गराउने वातावरण सृजना गर्ने पक्षमा रहेको बताउनु भयो ।
वास्तवमा, बाहिर निस्केर बहादुरी देखाउनुमा जित छैन । सतर्क भएर मात्र आफू र आफन्तलाई सुरक्षित राख्नुमा सबैको जित छ । अहिले बचियो भने पछि पनि बचिन्छ भन्ने होइन । सतर्क भइ फिल्डमा काम गर्न आगामी दिनमा पनि थप चुनौती छदैछ ।