भदौ ३०, धनुषा,
धनुषाको मिथिला नगरपालिका–९ ढल्केवरमा एक महिला आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी छन्। घटनापछि प्रहरीले उनका श्रीमान्लाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २९ गते राति करिब १०:५० बजे मिथिला नगरपालिका–९ ढल्केवर बस्ने अन्दाजी ३४ वर्षीय श्रवण महतोकी श्रीमती अन्दाजी २७ वर्षीया पुनिता देवी महतो आफ्नै घरको प्याजेसामा मृत अवस्थामा रहेको भन्ने सूचना इलाका प्रहरी कार्यालय ढल्केवरमा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक उदय शम्सेर जबराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले मृतकका श्रीमान् श्रवण महतोलाई अनुसन्धानका लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा ल्याएको छ। घटनाको सम्बन्धमा ज्यानसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

