You are currently viewing युवतीलाई ‘ब्याड टच’ गर्ने युवा पक्राउ, भिडियो भाइरल भएपछि प्रहरी एक्सनमा

युवतीलाई ‘ब्याड टच’ गर्ने युवा पक्राउ, भिडियो भाइरल भएपछि प्रहरी एक्सनमा

भाद्र २१, काठमाडौँ — राजधानीको पर्यटकीय क्षेत्र ठमेलको सार्वजनिक सडकमा हिँडिरहेकी एक युवतीलाई अस्वाभाविक तवरले छोएर अभद्र व्यवहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक) दान बहादुर थापाका अनुसार, भदौ १६ गते राति अन्दाजी ८:०० बजे काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलको सडकमा २२ वर्षीया युवती हिँडिरहेकी थिइन्। सोही क्रममा सेतो टिसर्ट र कालो पाइन्ट लगाएका, दाह्री तथा कपाल पालेका अन्दाजी २८–३० वर्षका देखिने एक अपरिचित व्यक्तिले ती युवतीलाई अस्वाभाविक रूपमा छोएर (ब्याड टच) दुर्व्यवहार गरेका थिए। उक्त घटना र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेजका सम्बन्धमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको थियो।

विस्तृत र प्राविधिक अनुसन्धानका आधारमा खटिएको प्रहरी टोलीले भदौ २० गते साँझ अन्दाजी ७:०० बजे ठमेल क्षेत्रबाटै ती आरोपितलाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाको कविलासी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-१४, कलंकी बस्ने ३० वर्षीय सालिन साह रहेका छन्।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हाल प्रहरी वृत्त, लैनचौरमा पठाइएको छ। उनीमाथि ‘अभद्र व्यवहार गर्न नहुने कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply