भाद्र १९, काठमाडौँ — सामाजिक सञ्जालमार्फत एक महिलालाई ब्ल्याकमेल गर्दै ९ लाख ९५ हजार रुपैयाँ असुल गर्ने एक युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
आफूलाई ‘ह्याकर’ बताउँदै महिलाका नग्न तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएर रकम ठगी गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका, सल्यानथान बस्ने २३ वर्षीय कमल बहादुर बुढा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक) दान बहादुर थापाका अनुसार, आरोपित बुढाले सामाजिक सञ्जालमार्फत पीडित महिलालाई सम्पर्क गरेका थिए। उनले आफू ‘ह्याकर’ भएको र महिलाका गोप्य तस्बिर तथा भिडियो आफूसँग सुरक्षित रहेको झुठो दाबी गर्दै ब्ल्याकमेल गर्न सुरु गरेका थिए।
आफूले माग गरेको रकम नदिएमा ती सबै तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनाइदिने गम्भीर धम्की दिँदै उनले पीडितबाट पटक–पटक गरी जम्मा ९ लाख ९५ हजार रुपैयाँ असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित महिलाबाट मोटो रकम ब्ल्याकमेलिङ गरी लिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले आरोपित बुढालाई सल्यानथानबाट तत्कालै नियन्त्रणमा लिएको थियो।
हाल पक्राउ परेका ती युवकविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

