भाद्र १९, विराटनगर,
हुलाकमार्फत पठाइएको पार्सलबाट लागूऔषध गाँजा बरामद भएपछि यसको भण्डाफोर भएको छ भने प्रहरीले चार जनालाई पक्राउ गर्न सफल भएको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी जान लागेको शंकास्पद पार्सल चेकजाँच गर्दा ९१० ग्राम गाँजा बरामद गरेको थियो। उक्त पार्सल रिसिभ गर्न आएका इटहरीका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिबाट थप जानकारी प्राप्त भएपछि सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित डेरामा खानतलासी गर्दा थाइल्यान्डको गाँजा १ किलो थप बरामद भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा गाँजा रिसिभ गर्न आएका सुनसरी धरान उपमहानगरपालिका–२० का १९ वर्षीय जोसिका तामाङ, धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २५ वर्षीय तारा मगर तथा भारतका दुई जना नागरिक, २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आर पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।
बरामद सामग्रीमा १ किलो ११० ग्राम लागूऔषध गाँजा र चार थान मोबाइल फोन रहेका छन्।

