भाद्र १३, मोरङ,
मोरङको विराटनगर महानगरपालिका–४, इक्राही नहरस्थित धानखेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १३ गते बिहान करिब ९:४० बजे स्थानीयले खेतमा नवजात शिशु फेला परेको जानकारी गराएका थिए।
धानखेतमा सालनालसहितको नवजात शिशु रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराइएको थियो। त्यसलगत्तै प्रहरी चौकी बरगाछी, मोरङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुको उद्धार गरी उपचारका लागि नोबेल अस्पताल, विराटनगर पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा शिशुको अवस्था सामान्य तथा स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन तथा शिशुलाई खेतमा कसले र किन छाडेको भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट SOCO (Scene of Crime Officer) सहितको प्रहरी टोली परिचालन गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित तथ्य तथा शिशुलाई त्यहाँ पुर्याउने व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ। हालसम्म घटनामा संलग्न व्यक्तिबारे थप विवरण सार्वजनिक गरिएको छैन।


