भाद्र १४, काठमाडौं,
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालले सामना गरिरहेको प्राकृतिक विपद्को पाँचौँ दिन पनि खोजी, उद्धार, उपचार तथा राहत वितरणका काम तीव्र रूपमा जारी रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो आधिकारिक फेसबुक खातामार्फत आइतबार राति करिब ८ बजेर ३० मिनटमा सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, प्रतिकूल मौसम, विकट भौगोलिक अवस्था र निरन्तरको जोखिमका बीच सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९,४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। राहत तथा उद्धारका लागि पछिल्लो दिनमा थप ७२ उडानसहित कुल ३९४ उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका क्षेत्रमा उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धार तथा खोजी गरिरहेका छन्। चिनियाँ टोलीले सुरुङभित्र करिब ३ किलोमिटरसम्म खोजी गरिसके पनि हालसम्म मानिस फेला पार्न सकेको छैन।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा पनि उद्धार प्रयास जारी छ। नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङमार्फत उद्धारको बाटो खोल्ने काम गरिरहेका छन्। त्यहाँ नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङको मुख्य भागमा २×३ फिटको प्वाल बनाएर भित्रबाट प्रतिक्रिया पाउने प्रयास गरे पनि कुनै प्रतिक्रिया प्राप्त नभएपछि ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनाका क्षेत्रमा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्रीको अपडेटमा उल्लेख छ।
२६७ घाइतेको उद्धार, १५६ जना डिस्चार्ज
बाढीका कारण घाइते भएका २६७ जनालाई उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायतका स्थानबाट चिकित्सकसहितको टोली परिचालन गरिएको छ। बाढीका कारण अवरुद्ध स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम पनि भइरहेको छ।
राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा
विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाउने काम भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको उद्धार अनुरोध पोर्टलमार्फत प्राप्त रकमको विवरण सार्वजनिक गरिएको जनाइएको छ।
पछिल्लो अपडेटअनुसार नौ वटा वाणिज्य बैंकका खातामा रु. ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
२६ आश्रयस्थल तथा राहत केन्द्र सञ्चालनमा
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। ती केन्द्रबाट आइतबार मात्रै ३,४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
काठमाडौंको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा पठाइएको छ। ती सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक तथा रसुवाको उत्तरगयामा पुर्याइएको र त्यहाँबाट थप प्रभावित क्षेत्रमा वितरण भइरहेको जनाइएको छ।
भारत, चीनसहित अन्तर्राष्ट्रिय सहयोग
विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत बढ्दै गएको छ। प्रधानमन्त्रीको अपडेटअनुसार एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर बजेटरी अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
त्यस्तै, स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क प्राप्त भएको छ।
भारतबाट चार चरणमा हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाइसकेको छ भने थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। चीनबाट भने ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ।
सञ्चार सेवा क्रमशः सञ्चालनमा
बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा पनि क्रमशः पुनः सञ्चालनमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाइएको छ।
बाढीअघि नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा BTS टावर सञ्चालनमा थिए। बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। तीमध्ये हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्।
सडक सम्पर्क पुनःस्थापनामा चुनौती
बाढीले मुख्य सडकमा क्षति पुर्याएपछि वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ। तर भोटेकोशीमा पानीको सतह बढ्दा गएको राति पहिरो खसेपछि वैकल्पिक सडकमा समेत असर परेको छ। कृष्णभीर क्षेत्रमा कटान हुँदा यातायात सेवा अवरुद्ध भएको छ। सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित सरकारी संयन्त्र परिचालन गरिएको छ।
७८१ शव फेला
विपद्मा ठूलो मानवीय क्षति भएको छ। प्रधानमन्त्री शाहको पछिल्लो अपडेटअनुसार हालसम्म ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको छ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने प्रक्रिया जारी छ भने पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्न थालिएको छ। सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिरहेको जनाएको छ। पहिचान गर्न नसकिने शवको DNA लगायत भविष्यमा पहिचान गर्न सहयोग पुग्ने प्रमाण सुरक्षित राखिने जनाइएको छ।
सरकारको प्रतिबद्धता
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सरकार गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन्।
उनले “नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो” भन्दै प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


