साउन २६, काठमाडौं: जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढाथोकीले Gatsby International Pvt. Ltd. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने आश्वासन दिँदै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: नेपाल प्रहरी

