मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ बाट लागूऔषध ओसार पसारमा संलग्न रहेका एकजना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, सिजुवा मोरङ, लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर काठमाण्डौ र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ वर्षको भगिरथ हरिजनलाई हिजो मोरङको रतुवामाई नगरपालिका वडा ६ कादुपाडाबाट नियन्त्रणमा लिएको थियो ।
BR 38Q 3830 नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १४९ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।