जिल्ला काठमाण्डौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने मिन बहादुर ठकुरीको छोरा ५९ वर्षको भैरव बहादुर ठकुरीले कृतेश खरेल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु भनि रकम ठगी गर्दा प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका पठाउनको लागि प्रति व्यक्ति रु. १३ लाख रुपियाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु जहाँ मासिक रु. ३ लाख रुपियाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २६ लाख रुपियाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।
ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भैरव बहादुर ठकुरीको खोजतलास गर्ने क्रममा पुष ९ जिल्ला काठमाण्डौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासीकोटबाट पक्राउ गरेको छ ।
निजलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको कुरा प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।