नाइजेरियामा कट्टरपन्थी बढ्दै गएको छ । कट्टरपन्थीसँग लडिरहेको यो देशमा दिनहुँ ठूला–ठूला घटना भइरहेका छन् । कट्टरपन्थीहरूले नाइजेरियाको बोर्नो राज्यमा आक्रमण गरेर कम्तीमा 42 महिलाहरूलाई अपहरण गरे । स्थानीयले पत्रकारलाई सो जानकारी दिएका हुन् । नागरिक संयुक्त कार्य बल ‘एबीए’का अनुसार बोर्नोको जेरे जिल्लामा ती महिलाहरू दाउरा जम्मा गरिरहेका थिए जब उनीहरूमाथि कट्टरपन्थीहरूले आक्रमण गरेका थिए ।
यो ठाउँ आतंकवादी संगठन बोको हरामको गढ हो, जसले त्यहाँ १४ वर्षदेखि आतंकवादी गतिविधि गरिरहेको छ । शरणार्थी शिविरमा बसेर दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका यी महिला माफा जिल्लाका रहेको स्थानीयले बताएका छन् ।
जिल्ला सरकारका प्रवक्ता कचला मैदुगुले घटनाको पुष्टि गरेकी छिन् । घटना मंगलबारको भएपनि बुधबार राति जानकारी गराइएको थियो । स्थानीयवासीले महिलाको रिहाइका लागि कम पैसा तिर्ने कुरा गरिरहेका छन् । स्थानीय सुरक्षा समूह ‘एबीए’का अनुसार कट्टरपन्थीहरूले यसअघि उक्त क्षेत्रमा किसानको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि हमला गरेका थिए र त्यसको केही घण्टापछि उक्त घटना भएको थियो ।