भदौ ११, धनकुटा,
धनकुटाको चौबिसे गाउँपालिका–७, ठूलोडुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ ११ गते बिहान करिब ५:४५ बजे युवराज लिम्बुले आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको चिरपट प्रहार गरेका थिए। गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे बिहान ६:१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुकमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा समेत प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा थप टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका युवराजको खोजी गर्ने क्रममा प्रहरीले उनलाई बिहान करिब ८:१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। घटनाको कारण खुल्न बाँकी रहेको र पक्राउ परेका युवराजमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

